धनगढी उपमहानगरपालिका द्धारा खानेपानीको गुणस्तर परिक्षण शुरु

  सोमबार २३, बैशाख २०८२ ०७:१७

धनगढी । धनगढी उप–महानगरपालिकामा खानेपानीको गुणस्तर परिक्षण शुरु भएको छ । बर्खायाम शुरु भए सगैं पानीजन्य रोग निम्तिने खतरा बढ्ने भएकाले त्यसको पुर्व तयारी स्वरुप धनगढी उप–महानगरपालिकाले खानेपानीको गुणस्तर परिक्षण शुरु गरेको हो । उप–महानगर भित्र रहेका खानेपानी निगम, संस्थान, डिपो तथा बोरिङको खानेपानीे गुणस्तर परिक्षण शुरु भएको हो । आजदेखी उप–महानगरपालिकाले पानी परिक्षण शुरु गरेको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा रहेको शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट पानी परिक्षण शुरु गरिएको हो । बिगतका बर्षमा समेत धनगढीमा केही पानीजन्य रोग देखा परेकाले त्यसको पुर्व शुरक्षा अनुरुप धनगढीका सबै खानेपानी संस्थाहरुको पानी गुणस्तर परिक्षण गरिन लागेको उप–महानगरपालिकाका स्वास्थ्य साखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । नगरबासीलाई खानेपानीबाटै सर्ने रोगबाट बचाउनका लागी पुर्व तयारी स्वरुप हरेक खानेपानी वितरणका केन्द्रका ट्याङ्कीबाट नमुना झिकेर परिक्षण शुरु गरिएको उनले बताए ।

खानेपानी ट्याङ्की र सो संस्थाबाट वितरण भएको अन्तिम बिन्दुबाट पनि पानीको नमुना लिएर खानेपानीको गुणस्तर परिक्षण गरिरहेका छौँ अवस्थीले भने “हामीले पानीको स्वच्छता कत्तिको छ र पानीबाट फैलिने रोग बिशेषगरी छाडापखालाका किटाणहरु छन् की छैनन्, पानी सामान्यतया धमिलोपन कत्तिको छ त्यो हेर्दैछौँ, पानी अमलियपना तथा छारियपना के छ त्यो पनि चेक गर्दैछौँ, हामी धनगढी उप–महानगरपालिका भित्र जतीपनि खानेपानी वितरण केन्द्रका ट्याङ्कीहरु छन् त्यसको पानी र त्यसले वितरण गरेको अन्तिम बिन्दुमा गएरपनि नमुना परिक्षण गरिरहेका छौँ ।”

उप–महानगरपालिका भित्र वितरण भइरहेका सबै वितरण केन्द्रका ट्याङ्की र केही समुदायमा समेत गएर नमुना सकंलन गरी परिक्षण गरिने अवस्थीले बताएका छन् । आजबाट शुरु भएको पानीको गुणस्तर परिक्षण कार्यक्रम केही दिन सञ्चालनमा रहने छ । सबै क्षेत्रका नमुना सकंलन गरिसकेपछि खानेपानीको गुणस्तर पत्ता लाग्ने जनाइएको छ । यसका साथै खानेपानी नपुगेको क्षेत्रमा ह्याण्डपम्पको पानी समेत परिक्षण गरिने छ ।

clock सोमबार २३, बैशाख २०८२ ०७:१७

प्रतिक्रिया