चतुर्दशी र पूर्णिमा एकैदिन : बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

  बुधबार ३०, असोज २०८१ ०६:२१

काठमाडौं । मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।  यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने अन्तिम दिन हो । 

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । 

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । बडादशैंको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । 

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा  कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । 

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादशैं समापन हुन्छ ।

clock बुधबार ३०, असोज २०८१ ०६:२१

प्रतिक्रिया