‘आमा बचाउ’ अभियानबाट धनगढीका ६१८ जना महिला लाभान्वित

  मङ्गलबार २२, असोज २०८१ ०७:४७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियानबाट ६ सय १८ जना महिलाहरु लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७९/०८० को मंसिर २१ गतदेखि चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ मसान्तसम्म सो संख्यामा महिलाहरु लाभान्वित भएका हुन् ।

आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उनका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । एम्बुलेन्स प्रयोग गरे बापत कुनै शुल्क नलाग्ने उनले बताए ।

उपमहानगरपालिकाले एउटा एम्बुलेन्स आफैँले सञ्चालन गरिरहेको छ भने तीन एम्बुलेन्स वडा नम्बर १६, १८ र १९ बाट सञ्चालन भइरहेका छन् । अभियान अन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेको उपमहानगरपाकिाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने, ‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन । त्यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।’

ज्येष्ठ नागरिकहरुलाई पनि एम्बुलेन्सले अस्पतालसम्म पुगाएर सेवा दिइरहेको उनले बताए । यस वर्ष एउटा एम्बुलेन्स थप गर्ने योजना रहेको उनको भनाई छ । निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बताए ।

‘ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ,’ उनले भने, ‘अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ ।’ ‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नम्बर १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए । उनले भने, ‘कसैसँग अस्पताल पुग्ने भाडा समेत हुँदैन ।

उहाँहरुलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।’ ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

‘ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्रयाक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ,’ नगर प्रमुख हमालले भने, ‘त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो ।’ उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको उनले बताए । अभियानलाई वडाको माग अनुसार विस्तार गर्दै लैजाने उनको भनाई छ ।

clock मङ्गलबार २२, असोज २०८१ ०७:४७

प्रतिक्रिया