आगलागीका कारण कर्णाली पुलमा आउजाउ ठप्प, खोजियो वैकल्पिक मार्ग

  सोमबार २८, फागुन २०८० २१:०३

धनगढी । सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली चिसापानीस्थित पुलमा लाइटर बोकेको ट्रकमा भएको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

आगो आंशिक रूपमा मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। सोही कारण उक्त पुलबाट पूर्व–पश्चिम राजमार्गमा भइरहेको आउजाउ पूर्ण रूपमा बन्द गरिएको छ।

पूर्व–पश्चिम राजमार्ग ठप्प भएकाले अहिले कैलालीको लम्की बजारबाट टीकापुर र त्यहाँबाट बर्दियाको राजापुर निस्केर भुरीगाउँ हुँदै वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालन भइरहेका छन्।

बर्दियातिरबाट पनि भुरीगाउँ र राजापुर हुँदै कैलालीको टीकापुर र लम्की निस्केर सवारी साधन सञ्चालनमा छन्। टीकापुर नगरपालिकाको दमकलसमेत भर्खरै मात्र कर्णाली पुलमा पुगेको छ। 

आइतबार दिउँसो बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम राजमार्ग चिसापानीअन्तर्गत कर्णाली पुलमाथि आइपुग्दा अचानक ना५ख ९२५७ नम्बरको ट्रकमा आगलागी भएको थियो।

ट्रकमा लागेको आगोले पुलमा समेत क्षति पुगेकाले अहिलेलाई आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख इन्जिनियर निरज शाक्यले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दका अनुसार अझै पूर्ण रूपमा आगलागी नियन्त्रणमा आएको छैन। डीएसपी चन्दले लम्किचुहा नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको बताए।

clock सोमबार २८, फागुन २०८० २१:०३

प्रतिक्रिया