नक्कली टीकट प्रकरणः अध्यक्षले महासचिवलाई भने ‘मिलेर सेफ ल्यान्डिङ गरौँ’

  बिहिबार १८, माघ २०८० १४:००

धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा विक्री गरिएको नक्कली टीकट ठेलीको घटनालाई मिलापत्र गर्न खोजिएको भिडिओ संवाद बाहिर आएको छ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले महासचिव शंकर बोहरालाई रातिको समयमा फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको संवाद बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय, धनगढीमा बुधवार महासचिव बोहरासहितका चार जनाका विरुद्ध जाहेरी दर्ताका लागि पुगेका बोहराले राति उनै महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए।

फोनमार्फत अध्यक्ष कल्याण बोहराले भनेका छन्, ‘तिमि पनि केही नगर, मिलाउनुपर्छ, यसलाई, अन्यथा नलिनु, सेफ ल्यान्डीङ्का लागि गरेको हो।’ अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको बताएका छन्। उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बचाउन मिलापत्र गर्नुपर्ने समेत बताएका छन्। शंकर बोहराले नक्कली टिकटको ठेली बरामद गरेका थिए।

अध्यक्ष र महासचिवको बिचमा भएको फोन संवादमा गल्ती गर्ने को होरु सबैलाई जानकारी भएको भनिएको छ। प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री गरेको आरोपमा बुधवार चार जना विरुद्ध जोहेरी जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको थियो। महासचिव शंकर बोहरा, ठेली छपान गर्ने बमबहादुर बोगटी र ठेलीमा छाप लगाउने दुई महिला विरुद्ध जाहेरी दर्ता गर्न अध्यक्षसहितको टोली बुधवार प्रहरीमा पुगेको थियो। 

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुलाई टिकट विक्रीको जिम्मा दिएको थियो। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान भएको पाइएपछि यसअघि २ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। महोत्सवमा एक सय ३६ वटा नक्कली टिकट बिक्री भएका थिए।

clock बिहिबार १८, माघ २०८० १४:००

प्रतिक्रिया