टेलिकमको कवाडी लिलाम प्रकरण : जोगिनलाई नक्कली गोदाम खडा

  आइतबार १४, माघ २०८० १६:२१

धनगढी । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीको कवाडी लिलाममा जोगिनलाई नक्कली गोदाम खडा गरेको खुलेको छ।

प्रारम्भिक छानबिनमा संलग्न अधिकारीहरूले ठेकेदार कम्पनीले समान पक्राउ परेपछि धनगढीमा नक्कली गोदाम खडा गरेको बताएका हुन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले राजस्व छलीको आशंकामा गेटा कार्यालयबाट चलानी भएको सामान बोकेका दुईवटा ट्रक सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिन लगाएका थिए।

ती ट्रकमा टेलिकममा राजस्व तिरेर चलानी भएको परिमाणभन्दा झन्डै दोब्बर सामान फेला परेको थियो। बढी परिमाणको सामानको राजस्व एक करोड ६ लाख रुपैयाँ हुन आउँछ।

गेटा कार्यालयबाट चलानी गरिएको सामान पक्राउ परेपछि ठेकेदार कम्पनी बीएलएस कन्स्ट्रक्सन काठमाडौंका प्रतिनिधिले बढी परिमाणको सामान धनगढीस्थित आफ्नो गोदामबाट लगिरहेको दाबी गरेका छन्।

कम्पनीका प्रतिनिधि चन्दनकुमार साहले गोदाम रहेको दाबी गरे।

बढी परिमाणको सामान गोदामको भएको उनले दाबी गरे पनि विश्वास गर्ने आधार नदेखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको भनाइ छ।

ठेकेदार कम्पनीका स्थानीय व्यवस्थापक साहले भने गोदामका सबै कागजपत्र रहेको र बढी देखिएको सामान त्यही गोदामबाट उठाएको दाबी गरे।

गोदामबाट उठाएको समय र सुरक्षाकर्मीले नियन्त्रण गरेको समयको अवधिलाई हेर्दा पनि गोदामबाट त्यति परिमाणको सामान ट्रकमा लोड गरिएको दाबी अपत्यारिलो रहेको प्रशासकीय अधिकृत जोशी बताउँछन्।

नक्कली गोदाम रहेको आंशका लागेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ।

दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य कबाड विक्रीका लागि सम्झौता भएको थियो।

प्रति किलोग्राम ८ सय ५० रुपैयाँका दरले कबाड विक्री गर्ने सम्झौता गरेको थियो। तर, टेलिकमले अभिलेखको भन्दा दोब्बर कबाड बिएसएललाई दिएपछि विवाद आएको हो।

टेलिकमका उच्च कर्मचारी र कम्पनीको बिचमा सम्झौताभन्दा बढी कबाड विक्रीमा मिलेमतो भएको आंशका छ। कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ।

कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो।

तर, टेलिकमका गोदामहरूबाट सङ्कलन गरिएको तामाजन्य कबाडको तौल र ट्रकहरूमा रहेको कबाडको तौलमा फरक परेपछि आर्थिक हिनामिना भएको आशँका गरिएको छ। टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो।

एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढीको तामाजन्य कबाड टेलिकमले बढी दिएको देखिएको छ। टेलिकमले धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ।

सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

ट्रक नियन्त्रणमा लिइएपछि प्रमुख जिल्ला अधिकारी मिश्रले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान तीन वटा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

टेलिकम प्रादेशिक निर्देशनालयले उपप्रबन्धक गोविन्दसिंह धामीको संयोजकत्वमा ९ सदस्यीय तौल जाँच समिति गठन गरेको थियो।

आफ्नोतर्फबाट कुनै तलमाथि नभएको संयोजक धामीले दाबी गरे। तर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जोशीले तौल गर्ने बेला सीसीटीभी पनि प्रस्ट नराखिएको पाइएको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी देबेन्द्रबहादुर पालले बताए।

गेटा कार्यालयबाट निकासी हुँदै गरेको ट्रकमा बढी परिमाणको सामान भेटिएपछि यसअघि निकासी भएको परिमाणमा पनि आशंका पैदा भएको उनको भनाइ छ।

clock आइतबार १४, माघ २०८० १६:२१

प्रतिक्रिया