कञ्चनपुरका देउवाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटाईयो

  शनिबार १३, माघ २०८० २०:१६

धनगढी । कैलालीको अत्तरियामा दोहोरी साँझको विवादसँग जोडिएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली समेत खटिएको छ ।

गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझमा विवाद भएर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा विज्ञ टोली खटाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक९डीआईजी० रविन्द्र केसीले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए ।

केसीकाअनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ लगायतका काम सकेको छ ।

‘यो घटनाको अनुुसन्धान गर्न प्रदेश कार्यालय महेन्द्रनगरको विज्ञ टोली खटिएको छ । उहाँहरुले अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सक्नुभएको छ,’ डीआईजी केसीले प्रेसपत्रसँग भने, ‘उहाँहरु काम गर्दै हुनुहुन्छ । अहिले ताजा प्रगति केही छैन ।’

प्रदेश प्रहरी कार्यालयकाअनुसार घटनाको अनुसन्धान गर्न प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरपती भट्ट नेतृत्वको टोली खटिएको छ । यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।

विगतमा यस्ता खालका घटनामा प्रदेश अनुसन्धान समूहका अधिकृतहरुलाई पनि खटाइने गरेकोमा यसपटक भने कसैलाई पठाइएको छैन । तर अनुसन्धान समूहका प्रहरी कर्मचारीले समेत सूचना संकलन लगायतका काममा सहयोग गरिरहेको डीआईजी केसीले बताए ।

पुस २५ गते राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।

देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए । देउवाले त्यहाँबाट फोन गरेपछि आफन्तले घर पुगाएका थिए ।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो ।

त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय बिनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका –९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock शनिबार १३, माघ २०८० २०:१६

प्रतिक्रिया