टेलिकम कबाड प्रकरणः सम्पूर्ण कागजपत्र अख्तियारको नियन्त्रणमा

  शुक्रबार १२, माघ २०८० २०:१६

धनगढी । नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको छ।

दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्न सम्पूर्ण सक्कली कागजपत्र नियन्त्रणमा लिएको हो। दूरसञ्चार निर्देशनालय स्रोतका अनुसार कबाड बिक्रीको सूचना, ठेक्का प्रक्रिया, सम्झौता तथा बैँकमा रकम जम्मा गरिएका भौचर लगायतका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेशकुमार केशीले अख्तियारले अनुसन्धान सुरु भएको बताए। जिल्ला प्रशासन कार्यालय कैलालीको प्रतिवेदनका आधारमा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ।दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य कबाड विक्रीका लागि सम्झौता भएको थियो।

प्रति किलोग्राम ८ सय ५० रुपैयाँका दरले कबाड विक्री गर्ने सम्झौता गरेको थियो। तर, टेलिकमले अभिलेखको भन्दा दोब्बर कबाड बिएसएललाई दिएपछि विवाद आएको हो। टेलिकमका उच्च कर्मचारी र कम्पनीको बिचमा सम्झौताभन्दा बढी कबाड विक्रीमा मिलेमतो भएको आंशका छ। कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ।

कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरूबाट सङ्कलन गरिएको तामाजन्य कबाडको तौल र ट्रकहरूमा रहेको कबाडको तौलमा फरक परेपछि आर्थिक हिनामिना भएको आशँका गरिएको छ। टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो।

एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढीको तामाजन्य कबाड टेलिकमले बढी दिएको देखिएको छ। टेलिकमले धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

clock शुक्रबार १२, माघ २०८० २०:१६

प्रतिक्रिया