अछामको डाडागाउँका नागरिक बँदेलले आक्रमण गर्न थालेपछि त्रसित

  शुक्रबार १२, माघ २०८० २०:११

अछाम । जङ्गली बँदेलले आक्रमण गर्न थालेपछि अछमको डाडा गाउँका नागरिक त्रसित भएका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का नागरिक जङ्गली बँदेलले आक्रमण गर्न थालेपछि त्रसित भएका हुन्।

बँदेलले आक्रमण गर्न थालेपछि उनीहरू मेला पात गर्न डाराइरहेका छन्। गाउँमा प्रवेश गरेको बँदेलले मानिसलाई आक्रमण गर्ने गरेकोले समस्या भएको स्थानीय अमृता भण्डारीले बाइन्। उनले भनिन्, ‘जङ्गली जनावरले आतङ्क मच्चाएका छन्। गाउँमा नै बँदेल आउन थालेका छन्। मेलापात गर्न र गाइ भैँसी चराउन समस्या हुने गरेको छ। हामी डर मानिरहेका छौ।’ उनले जङ्गली बँदेलबाट ज्यान जोगाउन समस्या रहेको बताइन्।

डाडागाउँका नागरिकले रातिको समयमा समेत त्रासमा बस्नु परेको गुनासो गरेका छन्। उनीहरूले रातिको समयमा गाउँ नजिकैको जंगलबाट आउने बँदेलले आक्रमण गर्ने जोखिम रहेको बताए। माघ ८ गते डाडागाउँको चिउरी खोलामा बँदेलको आक्रमणबाट २४ वर्षीया आरती भण्डारी घाइते भएकी थिइन। सो क्षेत्रमा अहिले पनि बँदेलले आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन्।

स्थानीय राजुदेवी भण्डारीलाई शुक्रवार (आज) पनि बँदेलले लखेटेको छ। समित्रा भण्डारीका अनुसार राजुवेदीले भागेर ज्यान बचाएकी हुन्। आरतीलाई आक्रमण गरेको ठाउँमा नै बँदेलले राजुलाइ लाखेटेको उनले बताइन्। उनले भनिन्, ‘चिउरी बोटको खोलामा आज पनि बँदेलले मान्छे लखेटेको छ। भागेर ज्यान बाँचेको छ। गहुँ खाँदै आएका बँदेलले मानिसलाईसमेत आक्रमण गर्न थाले। हामीलाई ज्यान जोगाउन समस्या भयो।’

डाडागाउँकी आरतीको साथमा ७ महिनाको छोरासमेत रहेका बेला बँदेलले आक्रमण गरेको थियो। उनको अनुहार तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। आरतीको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ। पानीको धारामा लुगा धुन गएको बेला उनलाई बँदेलले आक्रमण गरेको थियो। स्थानीय ललिता भण्डारीले आफूहरू बँदेलको डरले जंगल जान छोडेको बताइन्। उनले भनिन्, ‘एक हप्ता भयो, हामी जंगल जान छोडेको। गाइ भैँसीलाई घरमा घाँस र पानी खुवाउदैछौ। घरको घाँस सकिए, कसरी गाइ बस्तु पाल्ने रु’

डाडाँगाउँका नागरिकले लगाएको गहुँ तथा अन्य बालीसमेत जङ्गली जनावरले खाने गरेका छन्। उनीहरूले जङ्गली जनावरको डरले खेतीसमेत गर्न छोडेको बताएका छन्। स्थानीय सरकारलाई जंगली जनावरले खेतीमा गरेको क्षतिको विवरण दिएपनि कुनै सुनुवाइ नभएको डाडाँगाउँका नागरिकले बताए।

डिभिजन वन कार्यालय अछामका प्रमुख जनकराज पाध्यायले समुदायका मानिसहरू मिलेर बँदेल धपाउनुपर्ने बताए। उनले समूहमा मात्र जंगल भित्र जान आग्रह गरेका छन्।

clock शुक्रबार १२, माघ २०८० २०:११

प्रतिक्रिया