कैलालीमा चिसो बढेपछि विद्यालय बन्द

  मङ्गलबार ०९, माघ २०८० १२:५४

धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ। हुस्सु र कुहिरोले यहाँ तीन दिनदेखि घाम झुल्केको छैन। अत्यधिक चिसोले जनजीवन प्रभावित बनेको छ।

हुस्सु र शीतलहरले घरबाहिर निस्कन मुस्किल हुने गरेको छ। चिसोका कारण सुकुमवासी, भूमिहीनलगायत विपन्न वर्ग बढी मारमा परेका छन्। बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ।

चिसो बढेर बालबालिकालाई विद्यालय जान समस्या हुन थालेपछि स्थानीय तहहरूले विद्यालयमा बिदा दिन थालेका छन्। गोदावरी नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। १२ माघसम्म विद्यालयमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ।

अत्यधिक चिसोका कारण विद्यालयको पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले नगरपालिकाले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन्।

त्यस्तै, जोशीपुर गाउँपालिकाले चिसो बढेपछि विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अत्यधिक चिसोले बालबालिकालाई विद्यालय जान र पठनपाठन सञ्चालन गर्न समस्या हुन थालेको भन्दै भजनी नगरपालिकाले पनि विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

घाम नलाग्दा न्यूनतम तापक्रम घट्दै गएको छ। हिजो यहाँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। चिसोले दैनिक मजदुरी गर्ने विपन्न समुदायका व्यक्ति बढी प्रभावित भएका छन्। 

clock मङ्गलबार ०९, माघ २०८० १२:५४

प्रतिक्रिया