हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  आइतबार ०७, माघ २०८० ०७:३३

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका जिल्लाहरूमा निरन्तर हुस्सुका कारण जनजीवन प्रभावित भएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरोको कहर निरन्तर रहने महाशाखाको अनुमान छ । केही सातायता निरन्तरको हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित हुँदै आएको छ ।

 मानिसहरूले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् । जनजीवन अस्तव्यस्त बनिरहेको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।  

clock आइतबार ०७, माघ २०८० ०७:३३

प्रतिक्रिया