चिसो बढ्न थालेपछि धनगढीमा निःशुल्क दाउरा वितरण

  शुक्रबार ०५, माघ २०८० २१:०८

धनगढी । धनगढीमा शीत लहर बढ्न थालेपछि चोक चोकमा निःशुल्क दाउरा वितरण गरी उपमहानगरपालिकाले आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले धनगढीका विभिन्न चोक र सर्वसाधारण जम्मा हुने स्थानमा आगो ताप्ने व्यवस्था गरेको हो । शीत लहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढीका विभिन्न चोक चोकमा निःशुल्क रूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको धनगढी  उपप्रमुख कन्दकला कुमारी रानाले बताइन । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था  गरेको उनले बताइन । 

धनगढीका ३० ठाउँमा दाउरा वितरण गरिएको उपमहानगरपालिका प्रहरी बलका प्रमुख भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार एलएन चोक, रातो पुल, नवजीवन अस्पताल, उत्तर वेहेडी चोक, घरेलु चोक, मिलन चोक , भन्सार चोक, त्रिनगर चौकी भन्सार, सशस्त्र प्रहरीको भन्सार व्यारेलमा दाउरा वितरण गरेको छ । 

यस्तै आमाको माया छात्रा बास, बोराडाँडी चोक, त्रिभुवन चोक, भाटभटेनी चोक, राजपुर चोक, संगम टोल, मोहनपुर चोक, एयरपोर्ट चोक, सारथि अस्पताल, सेती प्रादेशिक अस्पताल, पुष्प लाल चोक, क्याम्पस चोक, बुद्ध चोक, जन आवास चोक, शिवनगर चोक, पिपल चौतारा चोक, मानव सेवा आश्रम, तुलसी चोक, नेपाल राष्ट्र बैंक चोक, वन मन्त्रालय, निसर्ग अस्पताल नजिक दाउरा वितरण गरेको उनले बताए ।

 उपप्रमुख रानाले चिसोबाट जोगाउन धनगढीका ३० भन्दा बढी सर्वसाधारणको बढी चाप हुने ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको बताइन । चिसोका कारण कोही बिरामी नपरुन् भनेर दाउरा वितरण गरेको बताइन । 

वृद्ध वृद्धा तथा ज्येष्ठ नागरिक र साना बालबालिका लागि आगो ताप्न दाउरा वितरण गरिएको बताइएको छ ।

clock शुक्रबार ०५, माघ २०८० २१:०८

प्रतिक्रिया