अत्तरियाबाट प्रदुषण कर उठाउने कृष्णपुरका २ जना प्रहरी नियन्त्रणमा
अत्तरिया । कैलालीको अत्तरियाबाट प्रहरीले सरसफाईरप्रदुषण कर संकलन गर्ने २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया स्थित सब्जी मण्डीबाट सरसफाई र प्रदुषण कर संकलन गर्ने सोनी कन्स्ट्रक्सनका २ कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कम्पनीमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का पदम सुनार र सुरज विक रहेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले तरकारीको ट्रक रोकेर पैसा लिएको गुनासो आएपछि २ जनालाई पक्राउ गरेको बताए । उनले उनीहरूले के कारणले पैसा मागिरहेका थिए भन्ने बारेमा भने अनुसन्धान भइरहेको बताए । दुवै जना अहिले प्रहरी हिरासतमै रहेका छन ।
सोनी कन्स्ट्रक्सनका संचालक हरी भट्टराइले भने भारतबाट आयात हुने माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा लाग्ने सरसफाइ करको ठेक्का पाएकाले आफ्ना कर्मचारीले कर उठाएको बताए ।
उनले धनगढी उपमहानगरपालिका संग भएको सम्झौता बमोजिम कर संकलन गर्दा प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरेको बताए । धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि उक्त तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया आएकाले आफूहरू पनि अत्तरिया पुगेर कर संकलन गर्न खोजेको बताए ।
यसअघि पनि धनगढीबाटै सोनी कन्स्ट्रक्सनका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि सम्झौता अनुसार नै कर संकलन गरिएको भन्दै ति कर्मचारी छुटेका थिए ।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
जस अनुसार माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक भट्टराइले बताए ।
प्रतिक्रिया