धनगढीमा सञ्चालनमा ल्याइएको साइकल लेन ठुला गाडीकै कब्जामा

  बुधबार ०३, माघ २०८० २०:४५

धनगढी । धनगढी उपमहानगरपालिकाले कैलाली भन्सार मोहनापुल देखि गेटा विमानस्थलसम्ममा साइकल लेन सञ्चालनमा ल्याएको छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सारदेखि विमानस्थल मार्गसम्म सात दशमलव १४ किलोमिटर दाँया र सात दशमलव १४ किलोमिटर बाँया सडकको दुबैतिर साइकल लेन निर्माण गरिएको छ। 

पुष २१ गते धनगढी मेयर गोपाल हमाल, नगर उपप्रमुख कन्दकला कुमारी राना लगायतले धुमधामसँग साइकल लेनको उद्घाटन गरेका थिए। तर साइकल लेन सञ्चालनमा ल्याइएपनी सर्बसाधारणले लेन अनुसार साईकल नचलाउँदा र अन्य सवारीसाधनले पार्किङ गर्दा समस्या भएको छ। 

साइकल लेननै छुट्याएर ठाउँ दिएको भएपनी लेन अनुसार साईकल नचलाउदा जथाभावी पार्किङले चुनौती थपिएको छ। धनगढी उपमहानगरपालीका ३ का स्थानिय ओम चन्दले साइकल लेन सञ्चालनमा ल्याउनु राम्रो भएपनी दिगो नहुने भन्दै चिन्ता ब्यक्त गरे । उनले साइकल लेन सञ्चालनले दुर्घटना पनि कम हुने र उपमहानगरपालिकाको पर्यावरण, सडक सुरक्षा हुने बताए।

तर उनले पार्किङ्गको समस्याले कार्यक्रम दिगो रुपमा प्रभावकारी नहुने बताए । उनले भने, जथाभावी सवारी पार्किङ्गले साइकलयात्रीलाई चलाउन पनी समस्या हुने र झन् दुर्घटना समेत बढ्ने भएको छ । त्यसकारण पार्किङ्गलाई ब्यवस्थीत बनाउनुपर्छ । गत कात्तिकमा १४ किलोमिटर सडकमा उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँकेसँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

साइकल लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गरेका थिए । साइकल लेन छुट्याएर ठाउँ दिएको बताउँदै यस्ले दुर्घटना पनि कम हुने र उपमहानगरपालिकाको पर्यावरण, सडक सुरक्षा हुने बताएका थिए। 

धनगढीका स्थानिय ब्यापारी दुर्गा दत्त भट्टले भने, पर्यावरण दृष्टीकोणले साइकल लेन सञ्चालन हुनु एकदमै राम्रो हो, तरपनी ठेलागाडी त्यसैमा चलाउने, मान्छे त्यसैमा र मोटरसाईकल पनी त्यसैमा हिड्ने भएकाले जनचेतना दिनुपर्छ उनले भने, ट्राफिक ब्यवस्थापन अझ झन् आवश्यक छ।

धनगढी मिलनचोककी स्थानिय ब्यापारी मिना देवी साउँदले छ लेन सडकमा साईकल, मोटरसाईकल, अटोरिक्सा, गाडी ठेलागाडा उसै लेनमा चलाउँदा दुर्घटना हुने जोखीम रहेकोमा अब उक्त समस्या हट्ने बताइन् । 

अब आवतजावतमा एकदमै सहज हुने र पार्किङ ब्यवस्थीत बनाउनुपर्ने उनले भनिन् । यता ट्राफिक प्रहरी तथा धनगढी उपमहानगरपालीकाले नगर प्रहरी खटाएर हाल पार्किङलाई ब्यवस्थीत बनाउने कार्यमा अघि बढेको बताएको छ ।

clock बुधबार ०३, माघ २०८० २०:४५

प्रतिक्रिया