मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित

  बुधबार ०३, माघ २०८० २०:३२

धनगढी । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । बुधबार बुद्ध एयरको विमानले काठमाडौँ–धनगढीको उडान गरेपनि प्रतिकुल मौसमका कारण अन्य उडान भने अवरुद्ध भएका छन् ।

काठमाडौंँबाट धनगढीका लागि दिउँसो १ बजेर ३१ मिनेटमा उडेको श्रीएयरलाइन्सको जहाज खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको थियो ।

श्रीएयरलाइन्स धनगढीका प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ७ स्४० बजे उड्नुपर्ने जहाज खराब मौसमका कारण दिउँसो उडेपनि खराब मौसमका कारण आकाशमा ४५ मिनेट फन्को मारेर नेपालगञ्ज डाइभर्ट भएको जानकारी दिए ।

उनकाअनुसार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको विमान मौसम नखुलेपछि उतैबाट काठमाडौँ फर्किएको छ । बुद्ध एयरले भने बिहान १० बजेर २० मिनेटको उडान भरेको थियो तर मौसम बिग्रिएपछि साँझ ४ बजे र ६ बजेको उडान रद्द गरिएको बुद्ध एयरका धनगढी प्रमुख बुधराम माझीले जानकारी दिए ।

उनकाअनुसार बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौँबाटै बुद्धको विमान नउडेको हो । धनगढीमा बुधबार बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो । पछिल्लो केही दिनयता प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको उडान सेवा प्रभावित हुँदै आएको छ ।
बाक्लो हुस्सु र शितलहरका कारण चिसो बढेपछि जनवीवन समेत प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार धनगढीको न्यूनतम तापक्रम पाँच दशमलव ६ डिग्री मापन गरिएको छ । यो अहिलेसम्मकै सबैभन्दा कम चिसो मापन गरिएको फिल्ड कार्यालयले जनाएको छ ।

clock बुधबार ०३, माघ २०८० २०:३२

प्रतिक्रिया