धनगढीको मुख्य सडक कालोपत्रमा निर्माण व्यवसायीको बदमासी

  बुधबार ०३, माघ २०८० ०८:३८

धनगढी । कैलालीको धनगढीमा सडक कालोपत्रमा ठेकेदार कम्पनीको बदमासी देखिएको छ। क्षेत्रीय सहरी विकास आयोजनामार्फत कालिका कन्स्ट्रक्सनले कालोपत्रको काम गुणस्तरीय नगरेको पाइएको हो। धनगढीमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का पाएको निर्माण कम्पनीले मुख्य सडकको कालोपत्रमा नै बदमासी गरेको छ।

क्षेत्रीय सहरी विकास आयोजनाले गुणस्तरीय कालोपत्र नभएको भन्दै निर्माण कम्पनीलाई काम रोक्न पत्र नै पठाएको छ। गुणस्तरीय कालोपत्र निर्माण नभए भुक्तानी रोक्का गरिने आयोजना कार्यालयको चेतावनी छ। क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले आइतवारदेखि काम रोकिएको बताए। ‘लेयर मिलेको छैन। लेयर जस्तो हुनुपर्ने हो, त्यो भएको छैन। टेक्निकल कुरा हो। उहाँहरुले पूरा नगरेसम्म भुक्तानी हुँदैन,’ उनले भने।

धनगढीमा क्षेत्रीय सहरी विकासले १० दशमलव ६८७ किलोमिटर सडक कालोत्रपका लागि २०७७ असार २८ गते ठेक्का सम्झौता गरेको थियो। कालिका निर्माण कम्पनीले २ वर्षमा काम पूरा गर्न सम्झौता भएकोमा चार वर्षसम्म काम सकिएको छैन। सातवटा सडकमध्ये मुख्य सडकको कालोपत्रको काम थालेको निर्माण कम्पनीले लापरबाही गरेको छ। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुल सम्मको सडक कालोपत्रमा लापरबाही गरिएको हो।

क्षेत्रीय सहरी विकासका इन्जिनियर कलौनीले कम गुणस्तरको काम भएको बताए। उनले भने, ‘कालोपत्रको मोटाइले मात्र हुँदैन। गुणस्तर पनि चाहिन्छ। माथिबाट टालेर मात्र हुँदैन। कन्सल्टेन्सीसहितको टिम बसेर निर्णय हुन्छ। अहिलेको अवस्थाको ओके हुँदैन।’ क्षेत्रीय सहरी विकासको कार्यालयसँगै जोडिएको क्षेत्रमा कम गुणस्तरको कालोपत्र गरिएको भन्दै पौस २९ गतेदेखि काम रोकिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी, प्रदेशको भौतिक पूर्वाधार विकास तथा आर्थिक मामिला मन्त्रालय अगाडिको मुख्य सडकमा कम गुणस्तरको कालोपत्र गरिएको भन्दै काम रोकिएको छ। कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश खरेलले गल्ती भएको स्वीकार गरेका छन्। उनले कालोपत्रमा रोलर गर्दा ध्यान नदिएकाले समस्या देखिएको बताए।

उनले भने, ‘कालोपत्र सुरु गरेका थियौ। कालोपत्रको पहिलो लोडमा रोलिङ्ग कम भएछ। तीन मिटर क्षेत्रमा रोलिङ्गमा समस्या देखिएको छ। अप्रेटरले रोलिङ्ग कम गरेको रहेछ। लेयर नबसेको रहेछ। माथिको उप्किएको छ।’ निर्माण कम्पनीले कालोपत्रको सतह मिलाएको छैन। सडकको नयाँ कालोपत्रसमेत भत्किन सुरु भएको छ।

चिसोको मौसममा सडक कालोपत्र गरेको कालिका कन्स्टक्सनले कालोपत्रको गुणस्तर पूरा नगरेसम्म रकम भुक्तानी रोक्का हुने आयोजना कार्यालयको चेतावनी छ। निर्माण कम्पनीले गरेको कालोपत्र भत्काएर पुनःकालोपत्र गर्नुपर्ने देखिएको छ। मुख्य सडक एक दशमलव ३८ कालोपत्रको काम बाँकी छ। अन्य ६ वटा सडकमा समेत पूरा काम भएको छैन।

ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो।

clock बुधबार ०३, माघ २०८० ०८:३८

प्रतिक्रिया