धनगढीमा भुवा प्रतियोगिता सुरु

  बिहिबार २६, पुष २०८० २१:१२

धनगढी । बाजुरेली सेवा समाजको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भुवा प्रतियोगिता तथा भुवा महोत्सव सुरु भएको छ। ३ दिनसम्म चल्ने सो प्रतियोगिता तथा महोत्सवको आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन्।

धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको पानसमा दीप प्रज्वलन गर्दै प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन्। असत्यमाथि सत्यको जीतका रुपमा भुवा पर्व मनाइँदै आएको छ।

खासगरी सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ र डोटीका केही भागमा मनाइँदै आएको भुवा पर्व पछिल्ला केही वर्षयता बाजुरेली सेवा समाजले धनगढीमा पनि मनाउँदै आएको छ।

यसअघिका वर्षहरुमा पर्वका रुपमा मात्र मनाउने गरिएको भुवा पर्व यसवर्ष भने प्रतियोगिता नै गर्न लागिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिरसिंह धामीले बताए। उनले पर्वसँगै प्रतियोगिता मनाउँदा यो पर्वलाई संरक्षण गर्न सजिलो हुने बताए।

आज औपचारिक रुपमा सुरु गरिएको भुवा प्रतियोगितामा कैलाली र कञ्चनपुरका ६ टीमको सहभातिगता रहने आयोजकले जनाएको छ। आज खाली भुवा नाच प्रदर्शन र सांस्कृतिक कार्यक्रम गरिएको कार्यक्रममा शुक्रबार र शनिबार प्रतियोगिता गराइने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेतालाई पुरस्कार पनि दिइने र सो पुरस्कारका लागि सुदूरपश्चिम खेलकुद परिषदले आर्थिक सहयोग गरेको परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले जानकारी दिए।

clock बिहिबार २६, पुष २०८० २१:१२

प्रतिक्रिया