कञ्चनपुरका विपिन जोशीलाई हमासबाट रिहाइ गर्ने पहल अझै असफल

  आइतबार २२, पुष २०८० १३:०४

धनगढी । कञ्चनपुरका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको आज तीन महिना पुगेको छ। हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका बन्दी मध्येका एक विपिनको रिहाइका लागि नेपालले गरेका प्रयास अझै सफल हुन सकेका छैनन्। 

यसैबिच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा गत २४ घण्टामा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ। इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासको कमाण्ड संरचना ध्वस्त पारेको दाबी गरेको छ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले प्यालेस्टिनी लडाकुहरु उत्तरी गाजा क्षेत्रमा बिना कमाण्डर मात्र केही सङ्ख्यामा मात्र बाँकी रहेको दाबी गरेका छन्। उनका अनुसार हालसम्म इजरायली कारवाहीमा करिब ८ हजार हमास लडाकु मारिसकेका छन्। उत्तरमा भइरहेको कारवाही पछि इजरायली सैन्य शक्तिले केन्द्रीय र दक्षिणी गाजा क्षेत्रमा कारवाही तिब्र बनाउने भएको छ।

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारवाहीमा हालसम्म २२ हजारको ज्यान गएको छ। इजरायल र हमासबिचको द्वन्द चर्किएसँगै गाजा क्षेत्रका २३ लाख सर्वसाधारण विस्थापित भएका छन्। 

गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो जवाफी कारवाही प्रारम्भ गरेको थियो। हमासको हमलामा करिब एक हजार दुई सयको मृत्यु भएको थियो भने २४० जनालाई बन्दी बनाइएका थिए। कञ्चनपुरका विपिन जोशीसँगै करिब १२० जना अझै हमासको नियन्त्रणमा छन्।

clock आइतबार २२, पुष २०८० १३:०४

प्रतिक्रिया