धनगढीका मुनिरको घरमा गोली फेला

  शनिबार २१, पुष २०८० १५:०२

धनगढी । धनगढीका शेख मुनिर अहमद कैलाली प्रहरीबाट थुनामुक्त भएका छन्। सरकारी वकिल कार्यालयको पत्रपछि मुनिर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए।

उनका अनुसार अहिले मुनिरको मुद्दामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। हाललाई मुनिरलाई बाहिरै राखेर अनुसन्धान गर्न भन्दै सरकारी वकिलको कार्यालयले भनेपछि सोही बमोजिम अनुसन्धान भैरहेको चन्दले बताए।

केही समय अगाडि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालय कैलालीमा अचानक फेला परेपछि समातिएका थिए। त्यसबेला मुनिरलाई सार्वजनिक मुद्दा चलाई थुनामा राखेर अनुसन्धान थालिएको थियो।

यस्तै त्यो बेला मुनिरमाथि एक जनाको गाडी कब्जा गरेको मुद्दा पनि चलाइएको थियो। त्यतिमात्र होइन उनले अनेकौं ठगी गरेको भनिएकाले सार्वजनिक रुपमै प्रहरीले जाहेरी आह्वान गरेको थियो। तर प्रहरीले एक पनि जाहेरी नआएको जनाएको छ।

त्यसपछि मुनिरको अहिले अर्को कैफियत फेला परेको बताइएको छ। प्रहरीले मुनिरसँग २ नागरिकता रहेको भन्दै सो मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। सो नागरिकता कृर्ते मुद्दामा पनि मुनिर हाजिरी जमानीमा रहेको र अनुसन्धानका जारी रहेको प्रहरीको भनाई छ। प्रहरीले अहिले मुनिरको नागरिकता किर्ते मुद्दाको (अर्कैको नागरिकतामा मुनिरले आफ्नो तस्बिर राखेको) अभिलेख हेर्ने काम र थप बुझ्न विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौंबाट वकिल लिएर आएका मुनिर पावर लगाएर छुटेका हुन्। अहिले उनी कैलालीमा नरहेको स्रोतको दाबी छ। यस्तै अनुसन्धानकै क्रममा मुनिरको घरमा गोली पनि भेटिएको थियो तर त्यो गोली लाइसेन्सवाला प्रमाणित भएको बताइन्छ।

मुनिरविरुद्ध दर्जनौं आरोपहरु छन्। उनीविरुद्ध कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइन्छ। उनी नेपाली काँग्रेसका कार्यकर्तासमेत हुन्। केही वर्ष अगाडि अपहरणको आरोपमा बिरगञ्जबाट फरार भएर खाली हात आएका मुनिरले धनगढी आएपछि मात्रै करोडौंको सम्पत्ति जोडेको देखिजान्नेहरुको दाबी छ। केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए।

clock शनिबार २१, पुष २०८० १५:०२

प्रतिक्रिया