धनगढीको फोहर तह लगाउन सामाजिक परिचालिकाको भूमिका प्रभावकारी बन्दै

  शुक्रबार २०, पुष २०८० १७:०७

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले फोहरमैलालाई तह लगाउने काम गर्दै आएको छ। यसका लागि उपमहानगरका १९ वटै वडाहरुमा सामाजिक परिचालिकाहरु सक्रिय भएर लागेका छन्।

आफ्नो गाँउटोलको नेतृत्व गर्दै फोहरलाई तह लगाउन सामाजिक परिचालिकाहरुको भूमिका प्रभावकारी बन्दै गएको हो। धनगढीलाई सफा र स्वच्छ बनाउन सामाजिक परिचालकको भूमिका पनि बढ्न थालेको छ।

सहर तथा गाउँघरमा महिलाहरु जम्मा भएर आफ्नो वरिपरि तथा सार्वजनिक स्थलमा सरसफाई गर्ने काम नियमित रुपमा भइरहेको छ। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियानलाई सार्थक बनाउन महिलाहरु सक्रिय भएर लागेको उपमहानगरपालिकाले जनाएको छ।

आफ्नो वरिपरि भएको फोहरलाई तह लगाउन पछिल्लो समय सामुदायिक एवं संस्थागत विद्यालयको भूमिका समेत बढ्न थालेको छ। विद्यार्थीहरु आफै आफ्नो विद्यालय र वरिपरी जम्मा भएको फोहरलाई तह लगाउने गरेका दृष्यहरु देखिन थालेको छ।

यसका साथै विभिन्न संघसंस्था र क्लबहरुले समेत आफ्नो टोल र गाउँघर सफा गर्न एकताबद्ध भएको विषयलाई धेरैले प्रशंसा समेत गर्न थालेका छन्। उपमहानगरपालिकाले नगरवासीसँगै हातेमालो गरेर सफा नगर बनाउने प्रयास गर्दै आएको सरोकारवाला बताउँछन्। धनगढीका १९ वटै वडाभित्र सामाजिक परिचालिका मार्फत फोहरलाई तह लगाउने काम भइरहेको छ।

clock शुक्रबार २०, पुष २०८० १७:०७

प्रतिक्रिया