चेतन अयडी हत्याकाण्डका ६ अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

  शुक्रबार २०, पुष २०८० १६:५४

धनगढी । सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको  छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यस्तो आदेश गरेको हो। शुक्रबार सार्वजनिक आदेशमा थुनामा राख्न नपर्ने भनेको हो।

२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो।

अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चले जनाएको छ।

सर्वोच्चले  धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र पुर्पक्षका लागि थुनामा राख्न भनेको छ।

उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाए पनि सर्वोच्चले उल्टाएपछि उनीहरु छुट्ने भएका छन्।

clock शुक्रबार २०, पुष २०८० १६:५४

प्रतिक्रिया