बीरेन्द्रको परिवारलाई चौरपाटी गाउँपालिकाकोआर्थिक सहयोग, आज शोक विदा

  बिहिबार १९, पुष २०८० ०६:२३

अछाम । अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका–१ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।

साथै चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बिहीबार (आज) बन्द रहने पनि शोक प्रस्तावमा उल्लेख छ ।

गत शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

clock बिहिबार १९, पुष २०८० ०६:२३

प्रतिक्रिया