महाकाली करिडोर : दुई सय ४१ किमी ट्र्याक खोलियो

  बुधबार १८, पुष २०८० १९:१३

कञ्चनपुर । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेलधुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।

‘बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ । रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।’

डडेलधुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेलधुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ ।

बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ । ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ ।

‘डडेलधुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ’, आयोजना प्रमुख जोशीले भने, ‘दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौँ ।’ महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए ।

करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । वि.सं. २०६५र०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन । 

कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ । कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । 

ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ ।

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् । ‘महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो । अहिलेसम्म बनेको छैन । यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ’, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, ‘त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन ।’

clock बुधबार १८, पुष २०८० १९:१३

प्रतिक्रिया