गोदावरीको बिकट बस्ती बेलपानी र फुलबस्तिमा बिजुली बल्दा स्थानीय खुसी

  बुधबार १८, पुष २०८० १९:०२

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ को बिकट बस्ती बेलपानी, फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गुहिबर र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले विधुतको स्विच अन गरेर  विधुत लाइन विस्तार गरेका हुन् ।

विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय खुसी भएका छन् । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीमा बत्ती बल्न सुरु भएको छ । गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विधुत विस्तार गर्न सफल भएको बताए ।  

‘यो ठाउँ अँध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्षमात्र भएको छ । छोटो समयमै विधुत ल्याउन सफल भएका छौ’ मेयर भट्टले भने ‘हामी जनताको पक्षमा काम गर्न सफल भएका छौँ । हामीले सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ ।’  

फुलबस्ति, पटयानी, तल्लोगैरी, मल्लोगैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने उनको भनाइ छ । उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्न अझै १५–२० विद्युत पोल आवश्यक पर्ने बताए। 

गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रूपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ‘११ केभी विद्युत लाइन बिस्तार भएपछि अव विकासले गति लिनेछ’ वडा अध्यक्ष हेम प्रकाश मल्लले भने ।  

clock बुधबार १८, पुष २०८० १९:०२

प्रतिक्रिया