पश्चिम तराईका थारु बस्तीमा माघिको चहलपहल सुरु

  बुधबार १८, पुष २०८० ०७:१४

दाङ । थारु बस्तीमा यतिबेला माघिको चहलपहल सुरु भएको छ । दाङ सहित पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा यो पर्व मनाईन्छ ।

पुषको दोस्रो साता देखि माघिको कामकाज सुरु हुने थारु गाउँमा दुना टपरी, खुट्ने, ढिक्री र रोटी बनाउन चालम पिस्ने, आगोको चीर बाल्न वनदेखि दाउरा ल्याउने, घर लिपपोत गर्ने, तोरीको तेल पेल्ने, जाँड, रक्सी बनाउने काम सकिएको छ । बजारदेखि लत्ताकपडा किनमेल गर्ने, तरुल गन्जी खन्ने काम भईरहेको झिगौराकी बिश्वमाया चौधरीको भनाई छ ।

बर्षदिन गर्ने कामको योजना बनाउने थारु जातिले माघी पर्वलाई नयाँवर्षको रूपमा मनाउँदै आएका छन् । ‘जीता मर्ना दिन’ भनेर चिनिने पुसको अन्तिम दिन थारुहरुले सँगुर काट्ने, ढिक्री बनाउने र यसै रात महँताँवाको घरमा गाउँभरिका सबै भेला भई रातीभरि आगो ताप्दै ढुमरु गीत गाउने र आगोको धुनी जगाउने परम्परा थारुहरुमा छ ।

माघ १ गते बिहानै नजिकको खोला र ताल तलैयामा नुहाइ घर फर्केपछि चामल, नुन र मासको दाल ‘निश्राउ’ दाजुभाईले दिदिबहिनीलाई दिने परम्परा छ ।

नयाँ घरको थालनी गर्ने गाउँको महँताँवा चुन्ने, अशंबण्डा गर्ने छोरी, छोरीको बिवाह गरिदिने, अधिया लगाउन जग्गा जमिन थाम्ने, कुलापानीको चौकिदार राख्ने र देवीदेवताको पूजापाठ कसले गर्ने भन्ने समेत जिम्मेवारी यसै दिन दिईने थारु अगुवा प्रभु चौधरीको भनाई छ ।

थारुजातीले जमिन्दारको जग्गा जोतेवापत छोरी चेलीलाई कम्लहरी बसाल्न नपाईने कानुनी ब्यवस्था बनेपछि हिजोआज छोरी चेलीले यसबाट मुक्ति पाएका छन् ।

clock बुधबार १८, पुष २०८० ०७:१४

प्रतिक्रिया