धनगढीको भीम उद्यान रात्रिकालीन बजारसहितको निर्माण गर्न डिपीआर तयार

  मङ्गलबार १७, पुष २०८० १०:४९

धनगढी । कैलालीको धनगढीमा रहेको भीम उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भएको छ। धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको दशरथ भीम उद्यान (पार्क) लाई स्तरीय तथा आधुनिक निर्माण गर्न डिपीआर तयार भएको छ। उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिज्नेस्) गरेर आय आर्जन गर्न सकिने छन्। 

धनगढीको भीम उद्यान निर्माणका लागि ३६ करोड बजेट आवश्यक पर्ने देखिएको छ। सङ्घीय सरकारको सहरी विकास कोष तथा नगर विकास कोषको ऋणमा उद्यान निर्माण गर्ने योजनामा धनगढी उपमहानगरपालिका छ। 

दुई वर्षमा उद्यान निर्माणको काम पूरा गर्ने दाबी उपमहानगरपालिकाको छ। १७ वर्षमा सहरी विकास कोष र नगर विकास कोषको ऋण चुक्ता गर्ने योजनामा धनगढी उपमहानगरपालिका छ।

दशरथ भीम उद्यानमा जेष्ठ नागरिक पार्क, बालबालिका पार्क, युवा पार्क, म्युजिक फाउन्टेन र लेजर सो हलसहित हुने छन्। 

उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने बताइएको छ। 

भिडिओ र तस्बिरहरूले सुदूरपश्चिमका सम्पूर्ण धार्मिक, सामाजिक धरोहर, पर्यटकीय स्थल, खाना परिकार, भेषभूषा, संस्कृतिहरू चिनाउन महत्त्वपूर्ण भूमिका रहने दाबी उपमहानगरपालिकाको छ।

clock मङ्गलबार १७, पुष २०८० १०:४९

प्रतिक्रिया