बस दुर्घटनामा धनगढीकी गोल्ड मेडल बिजेता उसु खेलाडी खड्काको मृत्यु

  शनिबार १४, पुष २०८० १३:३२

धनगढी । बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ। हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी निता खड्काको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् । उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुदूरपश्चिम यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए ।
स्वर्ण पदक जितेको खुशी परिवारसंग बाड्ने खड्काको सपना अधुरो रह्यो, उसुका राष्ट्रिय रेफ्रि गुप्ताले भने, ‘खड्काको मृत्युले सुदूरपश्चिमले एक होनहार र अनुशासित खेलाडी गुमायो । हामी उनको मृत्युले स्तब्ध भएका छौ ।’

खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ ।
 

clock शनिबार १४, पुष २०८० १३:३२

प्रतिक्रिया