कैलालीमा माछापालनतर्फ किसानको आकर्षण बढ्दो

  शनिबार १४, पुष २०८० १३:२८     रासस

कैलाली । पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताउनुभयो । सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उहाँले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० केजी उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो । उहाँले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत आवश्यक सामग्री नपाउने समस्या रहेको बताइएका छन् । माछा व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ थियो ।

कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिकटन माछा खपत हुने गरेको छ । केन्द्रका अनुसार प्रदेश भरी वार्षिक करिब १० हजार मेट्रिकटन खपत हुने गरेको छ । मत्स्यविकास केन्द्रका अनुसार दुई जिल्लामा गरी एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आइएको छ । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन् ।

कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिकटन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिकटन माछा उत्पादन हुने गरेको छ । केन्द्रका प्रमुख शाहीका अनुसार सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ । उहाँले पछिल्लो १० वर्षको अवधिमा सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको बताउनुभयो ।

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा १० वर्षको अवधिमा आन्तरिक उत्पादन बढ्दै गएको जनाइएको छ ।

विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आइएको जनाउँदै मत्स्यविकास केन्द्रले पछिल्ला वर्षमा लक्ष्यभन्दा बढी परिमाणमा भुरा उत्पादन भइरहेको उल्लेख गरेको छ । केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका माछाका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ । रासस

clock शनिबार १४, पुष २०८० १३:२८     रासस

प्रतिक्रिया