सुदूरपश्चिमको वन मन्त्रालयमा उपसचिव बिस्ट एक्लैको आठ पद

  शुक्रबार १३, पुष २०८० १३:४१

धनगढी । सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयमा एउटै ब्यक्ति आठ वटा पदको जिम्मेवारी सम्हालिरहेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव हेमराज विष्टले मन्त्रालयमा, निर्देशनालय र महाशाखामा गरी आठ वटा जिम्मेवारी लिइरहेको पाइएको हो।

मन्त्रालयमा पाँच वटा महाशाखाको प्रमुखको जिम्मेवारीमा विष्ट रहेका छन्। यस्तै मन्त्रालयको प्रवक्ता रहेका विष्ट मन्त्रालयका निमित्त सचिव तथा सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको समेत जिम्मेवारी पाएका छन्। ति जिम्मेवारी पाइरहेका विष्टलाई अझ मन्त्रालयका सचिव जीवनाथ पौडेल काठमाडौँ गएपछि निमित्त सचिवको जिम्मेवारी पनि दिइएको छ।

सचिव पौडेल अपि बेस क्याम्पमा आवास गृह निर्माण गर्ने, फरेष्टरको तलबको विषयमा छलफल गर्ने र चिडियाखानाको विषयमा सैद्धान्तिक सहमति लिन ५ गते काठमाडौँ गएका छन्। सचिव पौडेलको अनुपस्थितिमा विष्टले निमित्त सचिवको जिम्मेवारी पाएका हुन्। वन मन्त्रालयमा प्रशासन योजना तथा अनुगमन शाखा, वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा, विज्ञान वातावरण तथा जलवायु परिवर्तन महाशाखा, वाणिज्य तथा आपूर्ति महाशाखा र औद्योगिक तथा पर्यटन प्रवर्द्धन महाशाखा गरी पाँच महाशाखा छन्।


ती सबै महाशाखा प्रमुख विष्ट रहेका छन्। विष्टको कार्यकक्षमा पनि कुनै विभागीय महाशाखा नाम छैन उनलाई महाशाखा प्रमुख भनिएको छ। मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र केसीले पाँचै महाशाखा प्रमुख विष्ट नै भएको बताए । उनले विष्ट अहिले महाशाखा प्रमुखसँगै निमित्त सचिव र वन निर्देशनालयका निमित्त निर्देशक पनि रहेको बताए । केही समय अघि वन मन्त्रालयमा दुई महाशाखामा प्रमुख थिए । उनीहरू दुवैले आफ्ना दुई महाशाखा मात्रै हेरिरहेका थिए।

उनीहरूको सरुवा भइसकेपछि उपसचिव बिस्टकै चाहना अनुसार सचिव स्तरीय निर्णयबाट विष्टलाई सबै महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ। सबै महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा काम पनि प्रभावकारी नभएको गुनासो आइरहेको छ । त्यसै माथि मन्त्रालयको निमित्त सचिव र प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको पनि जिम्मेवारी लिइरहेका विष्टलाई अहिले कार्यक्रममा जानै भ्याइ नभ्याई छ।

तर उपसचिव विष्ट अझै आफूलाई काम कम भएको बताए। पाँच महाशाखा, प्रवक्ता,निर्देशनालय, निमित्त सचिवको जिम्मेवारी एक्लै लिँदा कामको चाँप नभएको र आफुलाई अझै काम कम भएको बताए। सचिव नहुँदा निमित्त सचिवको जिम्मेवारी पाएको र अरू जिम्मेवारीमा कामको चाँप नभएको उनले दावी गरेका छन्। पाँच महाशाखा एक्लैले सम्हाल्ने विषयमा शाखामा काम व्यक्तिले नभई सिस्टमले गर्ने भएकाले समस्या नभएको उनले बताएका छन्।

clock शुक्रबार १३, पुष २०८० १३:४१

प्रतिक्रिया