बाजुराको हिमाली गाउँपालिकामा एक रुख रोपे पाँच किलो चामल

  शुक्रबार १३, पुष २०८० १०:२३

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो ।

‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताए। आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल ९कागती, स्याउ, ओखर, आँप, अनार०, डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् । 

स्थानीय कृषकले आफ्नै बारी तथा सार्वजनिक जग्गामा सो बिरुवा रोप्दै आएका छन् । यसले गर्दा कृषकलाई पनि फाइदा र पालिकाको अभियान पनि सार्थक भएको शाखा प्रमुख शाहीले बताए। ती बोटबिरुवा भने पालिकाको कृषि विकास शाखाले उपलब्ध गराउँदै आएको छ ।

आव २०७७/७८ मा रुख रोपेर जोगाएबापत कृषकलाई दुई हजार एक सय क्विन्टल, २०७८/७९ मा एक हजार आठ सय क्विन्टल र २०७९/८० मा एक हजार सात सय क्विन्टल गरी पाँच हजार छ सय क्विन्टल चामल वितरण गरिसकिएको छ । तीन हजार चार सय बिरुवामध्ये आधा फलफूलका बिरुवा फल्न थालेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

वडा नम्बर ५, बिच्छ्याँगाउँका कृषक सुरतबहादुर बुढाले अभियान सञ्चालन भएदेखि ६० वटा बिरुवा जोगाएर १२ बोरा चामल लिएको बताए । सोही वडाका भैरवबहादुर कार्कीले ५६ बिरुवा जोगाएर ११ बोरा चामल प्राप्त गर्नुभएको छ । यो कार्यक्रमबाट कृषक निकै उत्साहित भएका उमेश रोकायाले बताए । 

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बाजुराको सबैभन्दा दुर्गम तथा स्थानीय उत्पादनमा पछाडि परेको हिमाली गाउँपालिकाका बासिन्दालाई फलफूलमा आत्मनिर्भर बनाउन यस्तो अभियान चलाइएको बताए ।

clock शुक्रबार १३, पुष २०८० १०:२३

प्रतिक्रिया