पाहुनाको पर्खाइमा धनगढीको भादा गाउँ होमस्टे

  बिहिबार १२, पुष २०८० १०:१४

धनगढी । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे सोचे अनुसार फस्टाउन सकेको छैन । कालोपत्रे सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर व्यवस्थापकीय कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन नसकेको हो । 

कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो । 

१७ घरबाट होमस्टे सुरु गरिए पनि सञ्चालनको १३ वर्ष पुग्दासम्म दुई घरमा मात्रै होमस्टे थप भएको छ । हाल १९ घरपरिवारले होमस्टे चलाइरहेका छन् । २७५ घरधुरी रहेको भादामा थप अरू परिवारको होमस्टेमा आकर्षण देखिएको छैन । 

प्रदेशकै आर्थिक हब धनगढी नजिक रहेको यो होमस्टेले अपेक्षाकृत पाहुना पाउन नसकेपछि अरू परिवारको यसप्रति आकर्षण बढ्न नसकेको हो । जुन हिसाबले पाहुना आउनुपर्ने हो, त्यसरी नआइरहेको थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको पनि स्वीकारोक्ति छ ।

अध्यक्ष चौधरीका अनुसार भादा होमस्टेमा अपेक्षाकृत फस्टाउन नसक्नुमा विभिन्न कारण छन् । जसमध्ये मुख्य चुनौतीका रूपमा समय अनुसार सुविधा थप गर्न नसक्नु देखिएको छ । 

धनगढीसहित अन्यतिरबाट भादासम्म पुग्ने बाटो अझै कच्ची छ । होमस्टे रहेको गाउँमा खानेपानीको सुविधा छैन । गाउँ नजिकको खोलामा दुई वर्षदेखि पुल नभएकाले पनि पर्यटनमा असर परिरहेको उहाँले बताउनुभयो । 

विविध चुनौतीका बाबजुद पनि १३ वर्षको अवधिमा करिब ३५ हजार आगन्तुकले थारू होमस्टे गाउँ भादाको अवलोकन गरेको समितिको दाबी छ । जसमध्ये करिब ४०० विदेशी पर्यटक रहेको अध्यक्ष चौधरीले बताउनुभयो । होमस्टे व्यवसायबाट एक होमस्टे सञ्चालकले वर्षमा डेढदेखि तीन लाख रुपियाँसम्म कमाउने गरेका जनाइएको छ ।  

clock बिहिबार १२, पुष २०८० १०:१४

प्रतिक्रिया