अत्तरियामा पुस २६ गतेदेखि महोत्सव सञ्चालन हुने

  बुधबार ११, पुष २०८० १९:१५

अत्तरिया । कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

बुधबार अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन गर्ने जानकारी दिइएको छ । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।

महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क छ । आयोजकका अनुसार महोत्सवमा १५० ओटा स्टल रहनेछन् । ८० लाख लगानीमा सञ्चालन गरिने महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराले बताए । 

उनले प्रादेशिक महोत्सव भएकाले सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व गरिने बताए । उनले विगतमा कोरोना र बर्सातका कारण महोत्सव सञ्चालनमा समस्या हुँदै आएकोमा यस वर्ष महोत्सवमा कुनै वाधा नहुने अपेक्षा लिएको बताए । 

अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक राज देवकोटाले महोत्सवमा यस क्षेत्रको कला संस्कृतिको प्रचारप्रसार गर्ने गरी आयोजना गरिने बताए । उनले महोत्सवमा थारू संस्कृतिका विशेष स्टल रहने बताए । लामिताल परिसरमा संकलन हुने महोत्सवमा ढुङ्गाको पनि व्यवस्था गरिने आयोजकले जनाएको छ । 

clock बुधबार ११, पुष २०८० १९:१५

प्रतिक्रिया