खप्तड छेडेदहमा पहिरोले १२० परिवारका जग्गा बगे

  बुधबार ११, पुष २०८० १६:४७

बझाङ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका स्थानीय पहिरोको समस्याबाट पीडित बन्न पुगेका छन्। वडा नम्बर ४ पड्नापानीका ६५ वर्षीय आइते रावतसहित करिब १ सय २० परिवारको जग्गा थियो। 

केही वर्ष पहिला सुरु भएको पहिरोका कारण गाउँका सबैको जग्गा मात्रै नभएर त्यहाँ भएका गोठ पनि बगिसकेको र पहिरो निरन्तर गइरहेकाले जोखिम बढ्दै गएको पीडितको गुनासो छ।

स्थानीयको जग्गा भएको पड्नापानी क्षेत्र र पारिपातल सामुदायिक वनमा फैलिंदै गएको पहिरोले भुगाडी टोलका बासिन्दाको खानेपानीका मुहानसमेत बगाउँदा स्थानीय १५ परिवारलाई खानेपानीको समस्या भएको छ। 

२०७० सालतिर सुरु भएको पहिरो पछिल्लो चार÷पाँच वर्षपछि फैलिन थालेको छ। पहिरो करिब दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ। २५ प्रतिशतजति सामुदायिक वन र ७५ प्रतिशतजति स्थानीयको जग्गा पहिरोमा परिणत भइसकेको खप्तडछेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीले बताए। 

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले खप्तड छेडेदह ताल मात्रै नभएर पालिका नै पहिरोको जोखिममा रहेको र स्थानीय तहको स्रोतले नियन्त्रण गर्न सम्भव नभएपछि प्रदेश र केन्द्र सरकारलाई गुहार्दा सुनुवाइ नभएको गुनासो गरे।

clock बुधबार ११, पुष २०८० १६:४७

प्रतिक्रिया