कैलाली प्रशासनमा ५२ जनाद्वारा नागरिकता सच्याउन माग गर्दै निवेदन

  बुधबार ११, पुष २०८० ०६:१७

धनगढी । कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् । 

नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले नाम, जात र उमेर संशोधन गर्न चाहेमा नागरिकता लिएको पाँच वर्षभित्र सच्याउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

यसैगरी, पाँच वर्षभन्दा अघि नागरिकता लिएका व्यक्तिले संशोधन नियम नेपाल राजपत्रमा प्रकाशित भएको मितिले दुई वर्षभित्र सच्याउन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।  

संशोधन नियम लागु भएपछि कानुन बमोजिम कार्तिकमा १२, मङ्सिरमा ३० र पुसको पहिलो हप्तासम्म १० गरी ५२ जनाले नाम, जात वा थर सच्याउन माग गर्दै आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

निवेदकहरुको निवेदनअनुसार संशोधनका लागि निर्णय पर्चासहित सम्बन्धित निकायमा पठाइएको उनले बताए ।  

clock बुधबार ११, पुष २०८० ०६:१७

प्रतिक्रिया