धनगढीमा सडकको क्षेत्राधिकार छोड्ने भन्दै चोपडाले गरे मुद्दा फिर्ता लिने घोषणा

  मङ्गलबार १०, पुष २०८० ०९:४०

धनगढी । कैलालीको धनगढीमा सडकको क्षेत्राधिकार छोड्ने भन्दै स्थानीय हिक्मतसिंह चोपडाले अदालतमा दायर भएको मुद्दा फिर्ता लिने घोषणा गरेका छन्। उनले विकासको बाधक नबन्ने भन्दै मुद्दा फिर्ता लिने स्वघोषणा गरेका हुन्। 

सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ को पुरानो भन्सार सडक निर्माण गर्न सडक क्षेत्राधिकार छोड्न स्थानीय चोपडा सहमत भएका छन्। धनगढी उपमहानगरपालिकाले सडक निर्माण गर्न क्षेत्राधिकार खाली गर्ने सूचना प्रकाशित गरेपछि सो सडकमा घर भएका चोपडासहित तीन जनाले मुआब्जा दिनुपर्ने भन्दै उच्च अदालत गएका थिए।

उनीहरूले उपमहानगरपालिकाबाट मुआब्जा पाउनुपर्ने भन्दै उच्च अदालत दिपायमा रिट दर्ता गराएका थिए। तर, तीन जनामध्ये स्थानीय हिम्मतसिंह चोपडाले भने सडकको क्षेत्राधिकार छोड्ने र मुद्दा फिर्ता लिने घोषणा गरेका छन्।

सोमवार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेरै चोपडाले सडक विस्तारको कामलाई सहयोग गर्ने स्वघोषणा गरेका छन्।

चोपडाले धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा सडक विस्तार गर्ने जुन सूचना जारी गरेको थियो त्यो सूचनाको कदर गर्दै राज्यको नीतिनियम पालना गर्ने दायित्व निभाउने भन्दै मुद्दा फिर्ता लिने घोषणा गरेका हुन्।

उनले सच्चा नागरिकको कर्तव्य राज्यको नियम र मापदण्ड मान्नुपर्ने भएकाले स्वइच्छाले नगरपालिकाको मापदण्डअनुसार घर निर्माण गर्ने र उच्च अदालतमा दिएको क्षतिपूर्तिको निवेदन फिर्ता लिने घोषणा गरेका छन्।

clock मङ्गलबार १०, पुष २०८० ०९:४०

प्रतिक्रिया