डडेल्धुरा सदरमुकाममा सीसी टिभी क्यामेरा जडान

  मङ्गलबार १०, पुष २०८० ०६:४९

डडेल्धुरा । जिल्ला सदरमुकामका मुख्य बजारमा सीसी क्यामेरा जडान गरिएका छन् । अमरगढी नगरपालिकाले चालू आर्थिक वर्षको १० रुपैयाँ बजेट योजनाले तुफानडाँडा, खलंगा र बागबजारमा सीसी टिभी क्यामेरा जडान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको निगरानी रहनेगरी अमरगढी नगरपालिका–५ मुख्य बजार क्षेत्रमा १२ सीसी क्यामेरा जडान गरिएको नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए । बजार क्षेत्रमा हुने घटना, चोरी, डकैती एवं आपराधिक क्रियाकलापमा कमी ल्याउन तथा अपराधी पहिचान गर्न क्यामेरा जडान गरिएको उनले बताए ।

बागबजार क्षेत्रमा यसअघि जिल्ला प्रहरी कार्यालयले केही थान सीसी क्यामेरा जडान गरेको थियो । तर, ती क्यामेराको भिडियो प्रस्ट नदेखिने भएपछि विभिन्न घटनामा संलग्न पहिचान हुन सकेको थिएन ।

उच्च गुणस्तरका जडान गर्नुपर्ने प्रहरी आग्रह र अपराधमा संलग्नको पहिचान हुन सक्ने क्यामेरा आवश्यकताका आधारमा जडान गरिएको हो ।

तुफानडाँडा चोकमा दुई, खलंगा महेन्द्र मावि अगाडि दुई, खलंगाकै अमरगढी किल्ला अगाडि जिल्ला प्रहरी कार्यालयबाहिर एक र बाँकी सात क्यामेरा बागबजार बसपार्क तथा बजार क्षेत्रमा जडान गरिएको अमरगढी नगरपालिकाका सूचना प्रविधि अधिकृत दानबहादुर साउदले जानकारी दिए । उनका अनुसार २५ गुणा ‘जुमिङ रोटेट क्यामेरा’ जडान गरिएको हो ।

‘यी क्यामेरामा प्रस्ट देखिने गुणस्तर भएका हुन्, जुम गरेर टाढाको वस्तु एवं व्यक्ति पनि प्रस्ट देखिने गुणस्तर भएकाले अमरगढीका बजार क्षेत्रमा हुने घटना एवं असरे पहिचान गर्न सहज हुनेछ,’ अधिकृत साउदले भने ।

clock मङ्गलबार १०, पुष २०८० ०६:४९

प्रतिक्रिया