पुरैनी तालमा २८ प्रजातिका आगन्तुक चरा

  सोमबार ०९, पुष २०८० ०६:४८

धनगढी । कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर बेलौरी नगरपालिका –६ स्थित भुराकोटमा रहेको यो ताल २८ बिघा जमिनमा फैलिएको छ । 

तालमा सुनजुरे हाँस, मालक, कालीजुरे, हरियो टाउके, सिन्दुरे, बिजुलागैरो, खडखडे, बेल्चाठुँडे हाँससहित श्वेताँखीभौं, सुईरो पुच्छ्रे, सिउरे डुबुल्की चरा, ठुलो जलेवा लगायतका आगन्तुक चरा यसवर्ष आएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए। 

पुरैनी तालमा आगन्तुक र स्थानीयस्तरमा पाइने गरेर ५५ प्रजातिका जलपन्छी पाइने गरेको जनाइएको छ । यो तालमा देखिएकामध्ये कैलेटाउके हाँस, सारस विश्वमै दुर्लभ र भुँडीफोर गरुड सङ्कटको नजिक रहेको पन्छी हुन् ।    

‘ठुला सिमसारभन्दा तुलनात्मक रुपमा कम क्षेत्रफल रहेको पुरैनी तालमा यति धेरै जलपन्छी अभिलेख हुनु खुशीको कुरा हो’ डङ्गौराले भने, ‘तालमा पुग्ने जोकोहीलाई यी चराले लोभ्याउने गर्छन् ।’ 

clock सोमबार ०९, पुष २०८० ०६:४८

प्रतिक्रिया