धनगढीमा ग्लोबल आइएमई बैङ्कले घर फुटाएर छोडेपछि हारगुहार

  आइतबार ०८, पुष २०८० ०९:०३

धनगढी । धनगढीमा ग्लोबल आइएमई बैङ्कले घर फुटाइदिएपछि घरधनीले हारगुहार गरेका छन् । डेढ करोड ऋण लिएर बनाएको घरलाई बैङ्कले कार्यालय बनाउने नाममा भत्काइदिएको तर छोड्ने बेला सम्झौता अनुसार मर्मत नगरेको भन्दै भुवनसिंह कार्कीले हारगुहार गर्नुभएको हो । 

उहाँले मासिक दुई लाख बढी भाडा उठ्ने घरलाई बैङ्कले भाडामा नजाने बनाइदिएको आरोप लगाउँदै मर्मतसहित क्षतिपूर्तिको माग गर्नुभएको छ । कार्कीसमेतको स्वामित्व रहेको धनगढी उपमहानगरपालिका–२ मा शशाङ्क शाहीको घरलाई सन् २००७ बाट तत्कालीन बैङ्क अफ काठमाडौँले भाडामा लिएको थियो । 

हाल सो बैङ्क र ग्लोबल बैङ्क मर्जर भएर ग्लोबल आइएमई बैङ्क भएको छ । उहाँका अनुसार सुरुमा १५ वर्षका लागि सम्झौता गरिएको घर भाडा सम्झौता २०२२ मा सकिएपछि बैङ्कले पुनः पाँच वर्षका लागि सम्झौता गरेको थियो । 

तर सम्झौता अनुसार बैङ्क सो घरमा बसेन । गत असार मसान्तमा धनगढीस्थित बसपार्क क्षेत्रमा सरेको छ । २००७ को सम्झौतामा बैङ्कले घर छोड्ने बेला भएको टुटफुटलाई मर्मत गरेर पहिलेको जस्तै घर घरधनीलाई बुझाउने भन्ने सम्झौता भएको थियो । 

उहाँले घर मर्मत र क्षतिपूर्ति हुनुपर्ने माग गर्नुभएको छ । यसका लागि अदालतसम्म धाउने कार्कीको भनाइ छ । बैङ्कले पछिल्लो सम्झौतामा माथिल्लो तलालाई मासिक दुई लाख ४५ हजार रुपियाँ भाडा तिर्ने गरी पाँच वर्षका लागि सम्झौता गरेको थियो । 

बैङ्कले घरको अवस्था भाडामा नजाने बनाएर गएपछि अन्यायमा परेको उहाँको जिकिर छ । घर नै आम्दानी देखाएर सोही बैङ्कबाट ऋण लिएको भन्दै कार्कीले उल्टै अब बैङ्कले कालोसूचीमा हाल्ने भनिरहेको बताउनुभयो ।  

clock आइतबार ०८, पुष २०८० ०९:०३

प्रतिक्रिया