कैलालीमा शान्ति सुरक्षा कायम र लागुऔषध नियन्त्रणमा मेरो प्राथमिकता हुनेछ: मिश्र

  शनिबार ०७, पुष २०८० ०६:०७

धनगढी। कैलालीमा ‘लागु औषध नियन्त्रणका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन्। हालै सरुवा भएर कैलाली आएका प्रमुख जिल्ला अधिकारी मिश्रले ‘लागु औषध नियन्त्रणका लागि आफूले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।

कैलालीको जिम्मेवारी सम्हाले लगत्तै शुक्रबार पत्रकारसँग भेटघाट गर्दै उनले भने, लागु औषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने गरी काम गर्छु र  नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको छु । उनले भने, “मलाई थाहा छ, यो जिल्ला लागु औषधको हब बन्दै छ। प्रयोगकर्ता र कारोबारी बढेका छन्”, “लागु औषधको हब बन्न नदिन मेरो हर सम्भव प्रयास रहन्छ।”

प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताए। “म यो जिल्ला सरुवा भएर आउँदै गर्दा मलाई धेरै जनाले बधाई दिएका छन् उनले भने, के कारणले बधाई दिए मलाई थाहा छैन । तर, म यो जिल्लाको लागि काम गर्न आएको हुँ, उनले भने, यहाँको शान्ति, सुरक्षा, सुशासनलाई कायम राख्नुबाहेक मेरो अरू कुनै स्वार्थ हुने छैन ।”


प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको र त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गरेका छन्। यसैगरी १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेकाले यहाँ भइरहेको अवैध चोरी, पैठारी नियन्त्रण गरेर राजस्व चुहावट रोक्ने कार्यमा पनि आफ्नो प्रमुख भूमिका रहने बताए।

जिल्लामा रहेको राजस्व चुहावट नियन्त्रणसम्बन्धी समिति र केन्द्रमा रहेको समितिले आफ्नै ढङ्गले काम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ। दुवै समितिबिच खाडल देखिएको भन्दै उहाँले आफूले यी समितिबिच समन्वयका लागि पुलको काम गर्ने बताए।  कैलालीमा क्रस बोर्डर सुरक्षा चुनौती रहेको प्रमुख जिल्ला अधिकारी मिश्रको ठहर छ।

यसै गरी अहिले नेपाल–भारतको सीमा निर्धारण गर्ने पिल्लर मर्मतको काम भइरहेकाले पिल्लरलाई पनि प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए। उनले सरकारी सेवा प्रवाहमा बिचौलियाको प्रयोग र रकम असुल्ने कार्यप्रति आफूले शून्य सहनशीलता अपनाउने दावी गरेका छन्।  यस्तै प्रमुख जिल्ला अधिकारी मिश्रले आफु राम्रो काम गर्न आएको र काममा मात्रै ध्यान हुने उनले बिश्वास दिलाएका छन्।

clock शनिबार ०७, पुष २०८० ०६:०७

प्रतिक्रिया