सुदूरपश्चिममा आरआईटीका हाकिमसहितका प्रहरीले असुली धन्दा चलाएको आरोप

  बुधबार ०४, पुष २०८० १७:४५

धनगढी । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का प्रमुखसहितका सादा पोशाकका प्रहरीहरुले कैलाली र कञ्चनपुरमा व्यापक रुपमा असुली धन्दा चलाएको आरोप लगाइएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखामा बेनामी निवेदन पेश गर्दै आरआईटीका प्रमुख प्रहरी परिष्ठ नायब निरीक्षक डेनी स्वाँर समेतका प्रहरी कर्मचारीले असुली धन्दा चलाएको भन्दै कारवाहीको माग गरिएको छ ।

उक्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको सादा पोशाकका प्रहरीले असुली धन्दा चलाएको भन्दै नाम नै उल्लेख गरिएको छ । पहिलो नम्बरमा वरिष्ठ सई डेनी स्वाँर, दोस्रोमा असई अनिल बिष्ट, तेस्रोमा असई मदन उपाध्याय, पाँचौँमा वरिष्ठ सई रमेश खड्का तथा केही वरिष्ठ र सहायक हवल्दारका नाम उल्लेख गरिएको छ ।

उनीहरुले तस्करबाट पैँसा उठाउने, रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गराउने जस्ता काम गर्दै आएको दाबी गरिएको छ । तर पत्रमा प्रहरीका प्रमुखहरुको भने बचाउ गरिएको देखिन्छ । उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको भन्दै प्रमुखहरुको बचाउ गरिएको छ ।

कतिसम्म भने सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका मोटरसाइकल समेत प्रयोग गर्ने गरेको दाबी गरिएको छ । पत्रकार महासंघमा पुगेको बेनामी पत्र महासंघले पत्रकारको समूह मार्फत सार्वजनिक गरेको छ ।

पत्रको पूर्णपाठ पढ्नुस्

पत्रकार महासंघ
धनगढी, कैलाली
श्रीमान् कार्यालय प्रमुख ज्यू,
महोदय,
सबिनय नम्र निवेदन गर्नाको खास कारण यो छ कि विगत लामो समय देखि हाकिमहरुलाई गुमराहमा राखी तस्करी गराउने भएको हुँदा दुधको साँची विरालो भने कै सुदूरपश्चिमको आर।आई।टी। जिल्लाको सिबिल घुमुवा, वडाको सिबिल घुमुवाहरुको असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातीको समयमा भारतबाट मालसामान ओसार पसार गर्न लगाईएको देखिएको छ । निजहरुको मुखबाट अब हाकिमहरुको जाने बेला भयो तिमीहरु काम गर । परेको हामी छौं भनेर राती प्रत्येक नाकाहरुबाट सामान ओसारपसार गराएको र नेपाल प्रहरीका हाकिमहरु सादा पोशाकमा खटिएका प्रहरीले हाकिमहरुलाई गुमराहमा राखेर बाहिर सबै ठिक छ हजुर भनेर बदनाम गराउने गरेको छ ।
प्रत्येक सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाईक प्रयोग गरेको चोरीका बाईक चढेर असुली धन्दा गर्ने गरेको चोर प्रहरी निम्न प्रकार छन् ।

१) बरिष्ट सई डेनी स्वाँरले कैलालीका विभिन्न तस्करहरुबाट रकम असुली गर्ने गराउने गरेको ।

२) असई अनिल बिष्ट तस्करहरुसँग रकम असुली गर्ने गरेको तस्करहरुलाई मासिक रुपले पैसा दिनु पर्छ भनि पैसा मागेको ।
३) असई मदन उपाध्याय कनरीगाउँ चौधरीको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको र जिल्ला प्रहरी कार्यालयमा आएर मेलापत्र गरेको र हाल तस्करहरुसँग रकम असुल गर्ने गरेको ।

४) सहायक हवल्दार भरत सिंह ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रही चोरीका बाईक तस्करी गर्दा विवादमा आएको हाल आएर आर.आई.टी.मा रातीको समयमा तस्करहरु सँग मिलेर तस्कर गर्ने गरेको ।

५) वरिष्ठ हवल्दार लाल बहादुर चन्दले आफन्तहरुलाई छोड्ने र अरुलाई ५ किलो चिनी समातेर रोडमा फाल्ने गरेको र आफू आएर चौराहमा बस्ने र विभिन्न व्यक्तिलाई भगाउने गरेको र तस्करहरुलाई रातीको समयमा तस्कर गर्न लगाउने र पैसा असुली गर्ने ।

६) वरिष्ठ सई रमेश खडका आफ्नो एरियाबाट क्यारिङ गराउने गरेको र निजहरुबाट मासिक रुपले असुली गर्ने गरेको दाजुभाई होटल, रारा होटल लगायतका होटल साहूहरुबाट अनैतिक क्रियाकलाप गराएर पैसा असुल गर्ने गरेको ।

७) सहायक हल्दार सुरेन्द्र साहु बजारका प्रत्येक साहुहरुसँग रक्सी र पैसा असलु गर्ने गरेको र चोरीका मोटरसाईकल चलाउने गरेको तथा देहब्यापार गराउने होटलबाट रकम उपर असुल गर्ने गरेको ।

८) ट्राफिक त्रिनगरका असई महता प्रत्येक ट्रेक्टरबाट १ हजार लिने गरेको र रिन्यू फेल भएका अटो रिक्साबाट जरिवाना नगराई पैसा असुल गर्ने गरेको ।

माथि उल्लेखित निम्न व्यक्तिहरुमाथि कारवाही गरियोस् । झुठा हैरानी दिने चोरहरुको बारेमा विशेष तरिकाले छानविन गरियोस् र हदै सम्मको कारवाही गरियोस् । पदम थापाको टिम जस्तै यि चोरहरुलाई पनि डाँडा कटाउनु पर्छ । प्रत्येक ठाउँबाट दशै तिहारमा पैसा, रक्सी, उठाएर खाएका छन् ।

अहिले सबै नाकाबाट तस्करी गराएर पैसा उठाउने गरेको छ । ५ लाख देखि ७ लाख सम्म पैसा उठाएको छ तस्करहरुबाट हामी मिलाउँछौ भनेर ।
टिकापुर नाका, जोशीपुर, भजनी, रामपुर, हसुलिया, फुलबारी, जुगेडा, शान्तिनगर, त्रिनगर, डोकेबजार, खड्डा, कडकड, त्रिभुवनवस्ती, आई.बि.आर. डी, फट्टा, टेडुवा, बेलौरी, पचुई, भुडा, बेलडाँडी र झिलमिला सबैठाउँबाट चोरहरुले असुली गर्ने गरेको यी पुलिस माथि छानविन गरियोस् भनि सबै निकायलाई लेखि पठाएका छौं ।

clock बुधबार ०४, पुष २०८० १७:४५

प्रतिक्रिया