शिखरका मेयर बलायरले मनाए अस्पताल र वृद्धाश्रममा जन्मदिन

  मङ्गलबार ०३, पुष २०८० ०६:३५

डोटी । डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले अस्पतालका बिरामी र वृद्धा आश्रमका जेष्ठ नागरिकसँग जन्मदिन मनाएका छन् । उनले आमाको पुण्यतिथि र आफ्नो जन्मोत्सवको अवसर पारेर जिल्ला अस्पताल डोटी र सुजङ्ग अस्पताल राजपुरका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

त्यस्तै सोही अवसरमा सिलगढी स्थित पूज्य धर्मान्तक वृद्धाश्रमका तीन जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् । नेपाल प्रेस युनियन डोटीले संस्थापक अध्यक्ष स्व। तेज बहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गरेको “तेजु स्मृति अक्षय कोष” अन्तरगत प्रदान गरिने “तेजु स्मृति पत्रकारिता पुरस्कारका लागि” नगद पाँच हजार सहयोग गरेका छन् ।

नगर प्रमुख बलायरले बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै बिरामीहरूको स्वाथ्य अवस्था, अस्पतालको सेवाको अवस्थाका बारेमा जानकारी समेत लिएका छन् । बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै उनले बिरामीको सेवामा खटिएका स्वाथ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

“म राजनीतिमा आउनु भन्दा अघि देखि सामजिक सेवामा समर्पित थिए,”नगर प्रमुख बलायरले भने,”समाज सेवाले नै मलाई यहाँसम्म पुर्याएको हो । नगर प्रमुख भए पछि सहज स्वाथ्य सेवा विस्तार गर्न प्रयास गरिरहेको छु । जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रतेक वर्ष जेष्ठ नागरिकको घर घरमै स्वाथ्यकर्मी सहित पुगेर स्वास्थ्य सेवा दिने गरेको छु । 

जन्मदिनको अवसरमा जिल्ला भरिका बिरामीहरुलाई भेट्ने र स्वास्थ्य लाभको कामना गर्ने अवसर जुटाएको हुँ। जिल्लाको स्वास्थ्य सेवा प्रवाहमा अझै सुधार ल्याउन र सेवा थप गर्न जरुरी देख्छु।”

clock मङ्गलबार ०३, पुष २०८० ०६:३५

प्रतिक्रिया