रुसी सेनामा कार्यरत कैलालीका युवकको कुसको शव बनाएर दाहसंस्कार

  सोमबार ०२, पुष २०८० ०६:११

धनगढी । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको उतै मृत्यु भएपछि परिवारले कुसको शव बनाएर आइतबार अन्तिम दाहसंस्कार गरेका छन्। तीन महिनाअघि रुसी सेनामा भर्ना भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो।

परिवारले शुक्रबार मात्र उनको मृत्यु भएको खबर पाएका थिए। मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आज कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन्।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिएको छैन। मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका थिए। शव आउने÷नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेको उनले बताए।

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए। दुबईमा उनी गार्डको काम गर्थे। भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो। तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए। नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए।

उनीसँग कुराकानी नभएको तीन हप्ता भइसकेको थियो। मृतक भरत घरका माइला हुन्। उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन्। मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी छन्। शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका–६ दर्नाबाट टीकापुर बसाई सरेको हो।

clock सोमबार ०२, पुष २०८० ०६:११

प्रतिक्रिया