‘डाक्टर केसी जनभावना विपरीत गएपछि गेटामा अनसन बस्न दिएनौँ’
धनगढी । शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले बताएको हो ।
संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए ।
‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ (गेटा) मा अनसन बस्न नदिएकै हो,’भट्टले भने, ‘मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो । प्रदेशबासीको भावना विपरीत अरुको इसरामा बोल्ने छुट केसी मात्र होइन कसैलाई पनि छैन ।’
संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डाक्टर केसीलाई छ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको कुरा साँचो भएको बताए ।
‘उहाँलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन । म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो ।’
सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना तुहिएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनी बताउँछन् । सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशबासीले बहिष्कार गर्ने उनको भनाई थियो ।
शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका डाक्टर केसी संघर्ष समितिसँग विवाद भएपछि फर्किएका थिए । उनी साँझ नै धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् । तर केसीले मेडिकल विश्वविद्यालयको माग भन्दा बाहिर गएर प्रतिष्ठानको कुरा उठाएको भन्दै उनको अनसनको विरोधमा धनगढी प्रदर्शन समेत गरिएको छ ।
प्रतिक्रिया