नवजीवन सहकारीको ब्रान्डमा छिटै बजारमा चामल आउने

  बुधबार २७, मङि्सर २०८० २१:०४

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्रान्डमा छिटै बजारमा चामल आउने बताएका छन् । नवजीवन सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक एकाइगत साधारण सभामा उनले सो कुरा बताएका हुन । 

उनले सहकारीले आफ्नै ब्रान्डको चामल बजारमा ल्याउनका लागि ४ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको बताए। निकट भविष्यमै सुदूरपश्चिमसँगै देशका विभिन्न बजारमा नवजीवन सहकारी ब्रान्डको चामल पाइने बताए । 

संस्थाका अध्यक्ष वमले उनले माघ महिनामा नवजीवनको दुई वटा डडेलधुरा र काठमाडौँमा शाखा खोल्न अनुमति पाइसकेको बताए ।

२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७ सय ५४ जना शेयर सदस्य छन् । संस्थाले सेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठुलो अङ्ग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग गर्दै आएको छ । 

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ । २०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रकम रहेको थियो । आर्थिक मन्दीका बाबजुद पनि संस्थाको बचत सङ्कलनमा असर परेको देखिँदैन । 

गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भई २०८० असार मसान्तसम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप सङ्कलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 

२०८० असार मसान्तसम्म संस्थाको नगद र बैङ्क मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । 

clock बुधबार २७, मङि्सर २०८० २१:०४

प्रतिक्रिया