कञ्चनपुरमा एक वर्षमा सक्नु पर्ने पुल सात वर्षसम्म अलपत्र बनाएर ठेकेदार सम्पर्क विहीन

  सोमबार २५, मङि्सर २०८० ०७:५१     रासस

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ । 

पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ । पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन् । सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो ।

विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पुल तयार हुन सकेको छैन ।

पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले स्वीकार गर्नुभयो । किन काम हुन सकेन र ठेक्का तोडेर अरूलाई किन दिन सकिएन भन्ने प्रश्नमा उहाँले जवाफ दिन सक्नु भएन । 

सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दा आशै आशामा सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताउनुभयो । “बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहोर गर्नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।”

ठेकेदार कम्पनीको लापरबाही त हो नै तर कर्मचारीको मिलेमतो विना यस्तो सम्भव हुँदैन त्यसैले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । “सुविधा सम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।”

ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । “पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भन्नुभयो, “हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।” 

“पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको कार्यालयले जनाएको छ । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” उहाँका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ । रासस

clock सोमबार २५, मङि्सर २०८० ०७:५१     रासस

प्रतिक्रिया