धनगढीका मेयरलाई पत्रकार महासंघले बुझायो ध्यानाकर्षण पत्र

  आइतबार २४, मङि्सर २०८० १३:५६

धनगढी । धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाललाई पत्रकार महासंघ कैलाली शाखाले आज ध्यानाकर्षण पत्र बुझाएको छ । 

मङ्सिर १९ गते बिहान हमालले आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रसारण भएकै कारण आम नागरिकलाई मिडिया विरुद्ध भड्काउने गरी दिएको भन्दै महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो । 

फेसबुक पेजमा नगरप्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आम नागरिकलाई समाचार लेख्ने अनलाइन , पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई बाचगर्न भनिएको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी हो भन्दै पत्रकार महासंघ कैलाली सहित विभिन्न पत्रकारका सङ्घ सङ्गठनले विरोध जनाएका थिए ।

 पत्रकार र मिडिया हाउसका विरुद्ध आम नागरिकलाई भड्काउन नगर प्रमुखले अभिव्यक्ति दिएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा मेयर हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउस माथि आक्रमण भएमा, गालीगलौज वा धम्की आएमा त्यसको जवाफ स्वयं हमालले नै लिनुपर्ने उल्लेख गरिएको छ ।

तत्काल सोही माध्यमबाट पत्रकारिता प्रतिको आफ्नो धारणा राख्न र पोस्ट गरेको सामाग्री तत्काल सच्याउन माग गरिएको छ । त्यसो नभएमा मिडिया संस्था र मिडियाकर्मीहरू आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएको छ । 

मेयर हमालले आफूले सबै मिडियालाई आरोप लगाउन नखोजेको बताएका थिए । पत्रकार महासंघले भने समग्र पत्रकार तथा मिडियामा आँच आउने अभिव्यक्ति भएको भन्दै उक्त अभिव्यक्तिको विरोध गरेको जनाएको हो ।

clock आइतबार २४, मङि्सर २०८० १३:५६

प्रतिक्रिया