कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा धनगढीका युवकको मृत्यु

  बिहिबार २१, मङि्सर २०८० ०८:५८

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुपप्र ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

clock बिहिबार २१, मङि्सर २०८० ०८:५८

प्रतिक्रिया