कैलालीको धनगढीमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन गरिने

  मङ्गलबार १९, मङि्सर २०८० १०:५७

धनगढी। धनगढी उपमहानगरपालिकामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन गरिने भएको छ। यसअघि नगरभरिबाट मदिराजन्य पदार्थको होडिङ बोर्ड हटाएको उपमहानगरले अब कार्ययोजना बनाएर सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्रीलाई नियमन गर्न लागेको हो ।

मदिरा र सुर्तीको व्यापार र राजस्वभन्दा मानिसको स्वास्थ्य बचाउन बढी लगानी गर्नुपरेकाले संसारबाटै मदिरा र सुर्तीको व्यापारलाई निरुत्साहित गर्नुपर्ने दिगो विकास लक्ष्य छ । नगरप्रमुख गोपाल हमालले ‘अब विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले मदिरा, सुर्तीजन्य पदार्थसँगै लागूऔषध नियन्त्रणको कार्ययोजना ल्याउनुपर्छ, यो देशको केन्द्रीय नीति हुनुपर्ने बताए ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि निलम अधिकारीले नेपाल मदिराका लागि दक्षिण एसियामा उदयमान बजार भएको, सन् २०१३ को तुलनामा २०२२ मा पुग्दा मदिरा सेवन गर्नेमा पुरुषभन्दा महिलाको प्रतिशत बढेको, मिडियामा आउने विज्ञापन र खेलकुद मेला कन्सर्टमा गरिने मदिरा प्रवर्धनले युवालाई मदिरा सेवनमा प्रेरित गरेको जानकारी दिए ।


मदिरासम्वन्धी हानी कम गर्न उत्पादन कम गर्ने, विज्ञापनमा रोक लगाउने, कर बढाउनेजस्ता रणनीतिहरू लागू गर्नुपर्ने र नियमनका लागि स्थानीय सरकारहरू सक्रिय हुनुपर्ने सुझाव दिए ।उपभोक्ता हित संरक्षण मञ्च नेपालमा अध्यक्ष ज्योति बानियाँले मदिराको बिक्री वितरण खाद्यान्नजस्तो हुनु हुँदैन भन्ने मान्यता रहेकाले यसको प्रवर्धन रोक्नु पर्ने बताए ।

उनले मदिरा बन्द गर्न नसकिने भए पनि बिक्री समय, स्थान, उपभोक्ता र करका दर बढाउन नियन्त्रणमा लिनुपर्ने र मदिरा सुर्तीजन्य पदार्थका कारण आएका नसर्ने रोगहरू र मानसिक स्वास्थ्य समस्या घटाउनुपर्ने सुझाव दिएका छन् ।

clock मङ्गलबार १९, मङि्सर २०८० १०:५७

प्रतिक्रिया