युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

  शनिबार ०९, मङि्सर २०८० १२:३५

कञ्चनपुर।  इजरायल र आतङ्कवादी समूह हमासबिच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिरहेका छन्। 

इजरायल र हमासबिच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ।

'छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ।' विपीनका बुबा महानन्दले भने,'नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस्।' जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन्।

'भगवान्सँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस्। आमा पद्माले भनिन्,'विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ।' शुक्रवार परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग शुक्रवार सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

clock शनिबार ०९, मङि्सर २०८० १२:३५

प्रतिक्रिया