बझाङमा स्थानीयलाई पेस्तोल पट्काउन दिने प्रहरी असई निलम्बित

  शनिबार ०९, मङि्सर २०८० ०७:२३

बझाङ । बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई पदबाट निलम्बित भएका छन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुस्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई सञ्चारमाध्यमहरुले मंसिर ७ गते बाहिर ल्याएका हुन्।

घटना घटेको एक महिना भएपनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियोे। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई तत्काल पदबाट निलम्बन गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत बहादुर शाहले बताए।

डिएसपी शाहका अनुसार पेस्तोल पट्काउने पूर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको छ। केही दिनमै प्रदेश प्रहरी कार्यलयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिने भएको छ। उक्त समितिको निष्कर्षपछि धामीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने डिएसपी शाहको भनाइ छ।

clock शनिबार ०९, मङि्सर २०८० ०७:२३

प्रतिक्रिया